Saturday, October 28, 2006

कम्युनिष्टको जात

वामपन्थीहरुलाई सडकमा ल्याउन त सकिन्छ तर सरकारमा ल्याउन भने सकिदैन । सरकारमा गयो कि यिनले आफ्नो जात जनाइहाल्छन् । यिनीहरुको जात भनेको विभाजनको जात हो । सरकारमा गयो कि वामपन्थीहरुमा झगडा मच्चिहाल्छ । यसअघि एमाले फुटेको थियो । अहिले संसदमा थोरै मात्र सीट भएको जनमोर्चा मात्र होइन, सीटै नभएको संयुक्तमा समेत झगडा चर्किएको छ ।

सरकारमा गएपछि जनमोर्चा तीन टुक्रा बन्यो । संयुक्त पनि तीन टुक्रा बन्ने तरखरमा छ तर त्यसमा तीनतिर जान कार्यकर्ता नै पुग्दैनन् । कार्यकर्ता पुगेको भए त्यो पनि तीन टुक्रा बनिसक्थ्यो होला ।

वास्तवमा गिरिजाबाबुले माओवादीलाई सरकारमा नलानुको कारण पनि त्यही हो । सरकारमा गयो कि त माओवादी पनि फुटिहाल्छ । फुटेर तीन-चारवटा माओवादी पार्टि बन्न सक्छ । माओवादीको तीन-चारवटा पार्टि बन्यो भने वार्ता कोसग गर्ने - एउटा माओवादीसग वार्ता गर्न त यत्रो झमेला भइरहेको बेला तीन-चारवटा माओवादीसग कसरी वार्ता गर्ने - यो त अर्को आपत हुन्छ । त्यही भएर गिरिजाबाबुले माओवादीलाई सरकारमा नल्याएको हो । सरकारमा नल्याउञ्जेल माओवादी फुट्दैन । माओवादी नफुटेसम्म वार्तामा टेन्सन हुदैन । गिरिजाबाबुलाई कम्युनिष्टबारे राम्रो थाहा छ नि !



No comments: